गण्डकी मिडिया समिटमा ‘पत्रकारितामा एआई’ को बहस

अब, एआईबिनाको मिडिया न्यूजरुम परिकल्पना गर्न सकिदैंन

जनसम्मत
असार २०, २०८३, शनिबार

पत्रकारितामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबारे पोखरामा शनिबारसंवाद गरिएको छ।

सेसनका वक्ताले एआईबिनाको न्यूज रुमको कल्पना गर्न नसकिने तर्क गरे।

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश आयोजनामा गण्डकी मिडिया समिट-२०८३ समारोहमा ‘पत्रकारितामा एआई’ बारे बहस चलइएको हो।

बहसमा अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेत, एआईका विज्ञ दोभान राई र संचारउद्यमी एवं कन्टेन्ट क्रियटर महेश भण्डारी वक्ताहरु थिए।

संचारकर्मी रघुनाथ वाग्लेले बहसमा सहजीकरण गरेका थिए।

बहसमा वक्ताले एआई प्रविधि अहिले दू्रत गतिमा विकास हुँदै गएको र भविष्यमा यसले मानिसलाई छाडेर अघि बढ्न सक्ने पनि संकेत गरे।

पत्रकार बसन्त बस्नेतले अब एआईबिनाको न्यूजरुम परिकल्पना गर्न नसकिने उल्लेख गरे।

बस्नेतले आफ्नो मिडियामा एआई प्रयोग गर्न थालेको एक/डेढ वर्ष बितिसकेको स्मरण गरे।

उनले एआईबारे स्पष्ट पारे, ‘समाचारको सत्यपन छुट्याउने काममा विश्वास गरेर संपूर्ण रुपमा एआईलाई छोड्न सकिदैंन।, तर, अदृश्य निर्णयकर्तामा मानिस नै हुन्छन्। एआईले जहिलेसुकै राइट जजमेन्ट दिन्छ भन्ने पनि भ्रममा बस्नु हुँदैन। अदृश्य निर्णयकर्तामा मानिस नै हुने गर्छ।’

उनले एआईको प्रयोग लिएपनि सबै कुरामा आश्रित हुन नहुनेमा सचेत गराए।

कतिपय सबालमा सत्यलाई भ्रामक बनाउने काम भएकाले यस विषयमा गंभीर बन्नुपर्ने उनले सुझाव दिए।

जतिसुकै गर्दापनि न्यूज रुममा कहिलेकाहीँ गल्ती हुन सक्ने उनले स्वीकारे।

अर्को प्रसंगमा उनले एआईले श्रम विस्थापित गरिरहेको भएपनि नयाँनयाँ रोजगार पनि विकास गरेको बताए।

‘लेटर प्रेसदेखि अहिलेको दुनियाँ हेर्न पाएँ। यो त अभूतपूर्व फरक छ। उनले अल्गोरिदम एउटा परम्परा हो। पत्रकार कसैको ‘झोले’ बन्न हुँदैन। एकबारको जुनीमा हामी आफैँ आफ्नो क्षमताले पालिन सक्छौं’, उनले भने ।

एआई विज्ञ दोभान राईले ५ वर्षअघि एआई ‘सुगा चराजस्तो’ मनोरञ्जनको रुपमा लिइने गरिएकामा अहिले आएर बाघको सवार जस्तो भएको तर्क गरिन्।

उनले भनिन्, ‘एआई प्रविधि अहिले दू्रत गतिमा विकास हुँदै गएको छ। हाम्रो समाज, हाम्रो अर्थव्यवस्था, व्यवासायिक कार्यव्यवस्था दुवै परिवर्तन हुँदै गएको छ।’

उनले भोलिका दिनमा एआई मान्छेलाई छाडेर अघि जान सक्ने संकेत गरिन्।

उनले स्पष्ट पारिन्, ‘एआई यस्तो पावरफुल भइसकेको छ। हरेक कुरा निकै रियालिटी हुँदै आएको छ। एआई गरेको छुट्टि नै नसक्ने पनि अवस्था छ। हाम्रो काम, हाम्रो सम्बन्ध, क्रियसन भनेको बाहिर देखाउन मात्र होइन, भोलिका दिनमा खोक्रोपना ल्याउन सक्ने जोखिम छ।’

उनले सूचना प्रविधि विकासले मानिस सामाजिकीकरण हुनबाट बिस्तारै पन्छिदै गएको गुनासो गरिन्।

‘विगतमा हाम्रो घरमा कोही आयो भने वरिपरि बसेर पाहुनाको कुरा सुन्ने चलन थियो। अहिले त्यो प्रचलन हराउन थालेको छ।’ एआई जुन तरिकाले अघि बढेको छ, त्यसमा सौन्दर्य चेत र भ्यालु बुझ्न जरुरी छ। विगतमा पढ्न सजिलो थियो, लेख्न गार्‍हो थियो। अहिले, एआईको प्रयोगसँगै लेख्न सजिलो बन्यो। पढ्न गार्‍हो भयो। टेक्नोलोजी पावरफुल हुँदै गयो’, उनले उल्लेख गरिन्।

अर्का वक्ता संचारउद्यमी एवं कन्टेन्ट क्रियटर महेश भण्डारीले एआईको प्रयोग हुनु सकारात्मक रहेको दाबी गरे।

उनले दाबी गरे, ‘आफूले स्क्रिप्ट तथा कन्टेन्ट क्रियट गर्दा एआई प्रयोग गरेको छैन। तापनि, आफ्ना सम्पादक एआईबाट टाढा छैन। हालसम्म ९ सय कन्टेन्ट क्रियट गरिसकेको छु। एआईले न्यारेटिभ क्रियट गर्न सक्दैन। व्यक्तिले नै गर्ने हो।’

रास्वपाका नेतासमेत रहेका भण्डारीले कन्टेन्ट क्रियट गर्दा राजनीतिक विषय जोडेर सहीलाई गलत र गलतलाई सही भनिएको भए आफूले सच्याउन तयार रहेको प्रतिबद्धता जनाए।

एआईबारे पत्रकार जानकार हुनुपर्ने बताउँदै उनले एआईसँग पत्रकार डराउन नहुनेमा जोड दिए।

‘हाम्रो पहिचान भनेको हाम्रो रहनसहन, भेषभूषा हो। हाम्रो बिरासत पावरफूल छ। एआईसँग डराउनुपर्दैन। जनतामा के छ भन्ने प्रकटीकरण सोसल मिडियामा हुन्छ’, उनले स्पष्ट पारे।

करिब एक घण्टा चलेको उक्त बहस कार्यक्रममा प्रताप बानियाँ, आनन्द भट्टराई, विनोद लामिछाने र मन क्षत्रीले जिज्ञासा राखेका थिए।