नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन ललितपुरमा सकिएको छ।
प्रदेश पदाधिकारी, जिल्ला शाखा, प्रतिष्ठान तथा एशोसिएट अध्यक्षहरूको सहभागितामा सम्पन्न सम्मेलनले प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा, श्रमअधिकार तथा संचार क्षेत्रका समसामयिक चुनौतीलाई समेट्दै ९ बुँदे घोषणापत्रसमेत जारी गरेको छ।
सम्मेलनले पछिल्लो समय सूचना प्रवाहमा देखिएको संकुचन, आत्मनियन्त्रणको बढ्दो प्रवृत्ति, सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेद, पत्रकारमाथि हुने असुरक्षा तथा विद्युतीय कारोबार ऐनको प्रयोगमार्फत पत्रकारलाई दबाब र धम्की दिने गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
सम्मेलनले यस्ता गतिविधिविरुद्ध महासंघको आन्दोलनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धतासमेत जनाएको छ।
घोषणापत्रमार्फत नागरिक सर्वोच्चता, विधिको शासन, मानवअधिकार, लोकतन्त्र, संघीय व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता तथा विचार र अभिव्यक्तिको स्वतन्त्रताप्रति आफ्नो अडान पुनः दोहोर्याएको छ।
ती संवैधानिक मूल्यमा कुनै प्रकारको हस्तक्षेप हुन नदिन सरकारको ध्यानाकर्षणसमेत गराइएको छ।
सरकारी सूचना र विज्ञापन वितरणमा भइरहेको विभेद प्रेस स्वतन्त्रता, सूचनाको हक तथा संघीय व्यवस्थाको भावनाविपरीत रहेको ठहर गरेको छ।
सम्मेलनले त्यस्ता निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।
साथै, सूचना तथा संचारमन्त्री डा. विक्रम तिमिल्सिनाले उद्घाटन समारोहमा महासंघसँग संवाद गर्न व्यक्त गरेको प्रतिबद्धतालाई सकारात्मक रूपमा लिएको छ।
सात दिनभित्र माग सम्बोधन गर्न सरकारसँग आग्रहसमेत गरेको छ।
महासंघले माग बेवास्ता भए सिंहदरबार केन्द्रीत आन्दोलन गर्नुका साथै अन्तर्राष्ट्रिय संचार समुदायलाई समेत जानकारी गराउने अभियान अघि बढाउने चेतावनी दिएको छ।
सम्मेलनले राज्यका तीनवटैै अंगबीचको शक्ति पृथकीकरणको संवैधानिक सिद्धान्त प्रभावकारी रूपमा कार्यान्वयन गर्नपनि सरकारसँग माग गरेको छ।
कार्यपालिकाको प्रभाव व्यवस्थापिका र न्यायपालिकामाथि बढ्दै गएको बताएको छ।
संविधानअनुसार स्वायत्त र स्वतन्त्र रूपमा राज्य संचालन हुनुपर्नेमा जोड दिएको छ।
संचारगृहहरूले आर्थिक कठिनाइको बहाना देखाउँदै श्रमजीवी पत्रकारलाई नियमित पारिश्रमिक नदिने, जबर्जस्ती राजीनामा गराउने, अपमानजनक व्यवहार गर्ने तथा सेवाबाट हटाउने प्रवृत्तिप्रति सम्मेलनले आपत्ति जनाएको छ।
संचार संस्थाहरूलाई बक्यौता पारिश्रमिक तत्काल भुक्तानी गर्न र श्रमअधिकारको सम्मान गर्न आग्रह गरेको छ।
महासंघले श्रमजीवी पत्रकारसम्बन्धी कानुन संशोधन गरी सबै संचार संस्थालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने व्यवस्था गर्न, न्यूनतम पारिश्रमिक वृद्धि गर्न तथा सरकारी संचारमाध्यममा अस्थायी रूपमा कार्यरत पत्रकारको पेशागत सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
महिला पत्रकारमाथिको अनलाइन हिंसा, न्यून पारिश्रमिक, अस्थिर रोजगारी र स्थानीय पत्रकारको असुरक्षालाई पनि गम्भीर समस्याका रूपमा औँल्याएको छ।
श्रमजीवी पत्रकारसम्बन्धी कानुनको पूर्ण कार्यान्वयनमा जोड दिएको छ।
संविधान संशोधनको प्रक्रिया जनप्रतिनिधिमूलक र सबै पक्षको सहभागिता सुनिश्चित हुनेगरी अघि बढाउनुपर्ने धारणा सम्मेलनले राखेको छ।
साथै, संचारसम्बन्धी कानुनलाई समयानुकूल, प्रेसमैत्री तथा संघीय व्यवस्थाअनुकूल बनाउँदै नयाँ नीतिनिर्माणमा महासंघसहित सरोकारवालासँग व्यापक परामर्श गर्न पनि सरकारलाई आग्रह गरेको छ।
पत्रकारितालाई थप उत्तरदायी र विश्वसनीय बनाउन पत्रकार आचारसंहिताको परिमार्जन तथा प्रभावकारी कार्यान्वयनका लागि अभियान संचालन गर्ने घोषणा पनि सम्मेलनले गरेको छ।
गम्भीर प्रकृतिका आचारसंहिता उल्लंघनका घटनामा महासंघले कडा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यस्तै, अनलाइन संचारमाध्यमको दर्ता तथा नवीकरण प्रक्रियालाई सरल बनाउन, नवीकरण शुल्कमा छुट दिन तथा प्रदेश प्रेस रजिस्ट्रार कार्यालयमा दर्ता भएका अनलाइन संचारमाध्यमको नवीकरण सहज रूपमा हुने व्यवस्था मिलाउन पनि सम्मेलनले सरकारसँग माग गरेको छ।
यस्तो छ, घोषणापत्रको पूर्णपाठ
नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनबाट जारी घाेषणापत्र ।
(प्रदेश पदाधिकारी तथा शाखा, प्रतिष्ठान र एसोसिएट अध्यक्षहरूकाे राष्ट्रिय सम्मेलनबाट जारी ललितपुर घोषणापत्र-२०८३) २१ असार २०८३
१.नागरिक सर्वोच्चता, विधिको शासन, मानवअधिकार, लोकतन्त्र, संघीयता, पूर्ण प्रेस स्वतन्त्रता र विचार तथा अभिव्यक्तिको स्वतन्त्रताप्रति महासंघ प्रतिवद्ध रही आएको पुनःस्मरण गराउँदै यसमा आँच आउन नदिन सरकारलाई ध्यानाकर्षण गराउँछौं ।
२. पछिल्लो समय सूचना संकुचन, सेल्फ सेन्सरसीप, सरकारी सूचना तथा विज्ञापनमा विभेद, पत्रकारको भौतिक असुरक्षा, विद्युतीय कारोवार ऐनअन्तर्गत पत्रकारलाई धरपकड गर्ने, धम्की दिनेजस्ता कार्यहरू विरुद्ध जारी महासंघको आन्दोलन थप सशक्त बनाउने घोषणा सम्मेलन गर्दछ । सरकारी सूचनामा विभेद गर्ने सरकारी निर्णय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, निजी क्षेत्र र संघीयताको मर्मअनुकूल नरहेको ठहर गर्दै यो सम्मेलन यस प्रकारको विभेदकारी निर्णय फिर्ता लिन जोड गर्दछ । यस सन्दर्भमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सम्मेलनको उद्घाटन सत्रमा महासंघसहित सरोकारवाला पक्षसँग छलफलका लागि आतुर रहेको भनी दिएको अभिव्यक्तिलाई सकारात्मक रुपमा लिँदै ७ दिनभित्र महासंघका मागको यथोचित सम्बोधन गर्न सरकारलाई आग्रह गर्दै माग सुनुवाई नभए सिंहदरबार केन्द्रित आन्दोलनका साथै अन्तर्राष्ट्रिय मिडिया मिसनका विषयमा अग्रसर हुने घोषणा यो सम्मेलन गर्दछ ।
३. लोकतन्त्रको मूल आत्मा राज्यमा शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका स्वतन्त्र र स्वायत्त ढंगले सञ्चालन हुनुपर्नेमा कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकालाई आफ्नो छाँया बनाएको ठहर गर्दै यो सम्मेलन संवैधानिक प्रवन्धबमोजिम नै राज्य शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप चल्ने वातावरण बनाउन जोडदार माग गर्दछ ।
४. आर्थिक संकटको बहानामा सञ्चारगृहहरूले श्रमजीवी पत्रकारलाई नियमित पारिश्रमिक नदिएको, सञ्चारगृहहरूले करकापमा राजीनामा दिन बाध्य पारेको, अपमानजनक व्यवहार गरेको र निलम्बनसम्म गर्ने श्रम अधिकारविरोधी गतिविधि भइरहेकोप्रति यो सम्मेलन गम्भीर आपत्ति जनाउँदै श्रमजीवी पत्रकारहरूलाई नियमित पारिश्रमिक उपलब्ध गराउन र बाँकी वक्यौता तत्काल भुक्तानी गर्न सबै सञ्चारगृहहरूसँग माग गर्दछ ।
५. श्रमजीवी पत्रकार ऐन संशोधन गरी सबै सञ्चारगृहहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने बाध्यकारी कानुनी प्रवन्ध मिलाउन तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसबमोजिम श्रमजीवी पत्रकारहरूको पारिश्रमिक तत्काल वृद्धि गर्न यो सम्मेलन सरकारसँग माग गर्दछ । सरकारी सञ्चारमाध्यममा करार, सेवाकालीन करार, ज्यालादारी र स्ट्रिन्जरको रुपमा कार्यरत पत्रकारहरूलाई लामो समयसम्मको योगदानको सम्मान गर्दै सामाजिक सुरक्षा कोषमा आवद्ध गराइ पेशागत सुरक्षाको उचित प्रवन्ध गर्नसमेत यो सम्मेलन माग गर्दछ । यस्तै न्यून तलब, अस्थिर रोजगारी, श्रमजीवी पत्रकारको अधिकार प्राप्तिमा समस्या, सामाजिक सुरक्षाको अभाव, महिला पत्रकारमाथिको अनलाइन हिंसा, स्थानीय पत्रकारको पेशागत असुरक्षा गम्भीर समस्याका रुपमा देखा परेको ठहर गर्दै यो सम्मेलन श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग गर्दछ ।
६. सरकारबाट संविधान संशोधन कार्यदल गठन भई प्रक्रिया अगाडि बढिरहेकोतर्फ सम्मेलनको गम्भीर ध्यानाकर्षण भएको छ । संविधानसभाले निर्माण गरेको संविधान जननिर्वाचित सभाबाटै सबैको प्रतिनिधित्व हुनेगरी उच्चस्तरीय कार्यदलमार्फत अघि बढाउनु पर्ने मान्यता यो सम्मेलन राख्दछ ।
७. विद्यमान सञ्चारसम्बन्धी कानुनहरू समय सापेक्ष, प्रेसमैत्री र संघीयताको मर्मअनुरुप बनाउन र संविधानले प्रदत्त गरेका अधिकारलाई पूर्ण कार्यान्वयन गर्न नयाँ नीति निर्माण कार्यलाई तदारुकताका साथ अघि बढाउन माग गर्दै यस प्रक्रियामा महासंघलगायत सरोकारवाला पक्षहरूसँग गहन छलफल गरी सहमति निर्माण गर्न यो सम्मेलन जोड गर्दछ ।
८. पत्रकार र सञ्चारमाध्यमहरूलाई जवाफदेही पत्रकारिता गर्न ध्यानाकर्षण गराउँदै पत्रकार आचारसंहिताको समयानुकूल परिमार्जन तथा यसको पालनातर्फ प्रेरित गर्न अभियान नै सञ्चालन गर्न माग गर्दछौं । पछिल्लो समय पत्रकार आचारसंहिता उल्लंघन बढ्दो क्रममा रहेकोमा चिन्ता व्यक्त गर्दै यो सम्मेलन आचारसंहिता पालनामा अझ सशक्त भूमिका खेल्न महासंघ अग्रसर हुने र गम्भीर प्रकृतिका आचारसंहिता उल्लंघनका घटनामा निर्मम हुने घोषणा गर्दछ ।
९. अनलाइन दर्ता र नवीकरणमा भएको झन्झटिलो व्यवस्था अन्त्य गर्दै सहज बनाउन, नवीकरणमा लाग्ने शुल्क छुट गर्न, प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयमा दर्ता भएका अनलाइनको अविलम्ब नवीकरणको व्यवस्था मिलाउन यो सम्मेलन माग गर्दछ ।
हेरौ, महासंघको विज्ञप्ति

