पूर्ण प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिवद्ध छः संचारमन्त्री

सूचना प्रविधिको क्षेत्रलाई प्रवद्र्धन गर्न सरकारले आगामी दिनमा ‘टेक हव’ को रुपमा विकास गर्दैछ

जनसम्मत
जेठ ६, २०८३, बुधबार

संघीय सूचना तथा संचारमन्त्री डा. बिक्रम तिमिल्सिनाले प्रेसलाई संकुचन गर्न र नियन्त्रण गर्ने कुनै मनसाय नरहेको औंल्याएका छन्।

बरु, प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिवद्ध रहेको उनले बताएका छन्।

प्रतिनिधिसभा बैठकमा शनिबार सांसदहरुले उठाएको जिज्ञासामाथि जवाफ दिदैं उनले भने, ‘प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता होइन, त्यहाँभित्र पनि जवाफदेहिता छ। प्रेसपनि जिम्मेवार हुनैपर्छ।’

संविधानले दिएको अधिकार भएकाले सरकारले चाहेरपनि प्रेस स्वतन्त्रताविरुद्ध जान नसकिने उनको जिकिर थियो।

उनले प्रेसकर्मीलाई आफ्नो गरिमा र सीमाभित्र जिम्मेवार रहेर काम गर्न आग्रहसमेत गरे।

‘प्रेस काउन्सिलको क्षमता बृद्धि गर्न र नेपालको मिडिया क्षेत्रलाई स्वच्छ, जवाफदेही र गौरव गर्न लायक बनाउनेमा सरकार प्रतिवद्ध छ। सोअनुसार सरकारले योजना ल्याउँछ’, उनले प्रष्ट पारे।

त्यस्तै, संगीत र कला क्षेत्रमा पनि सुधारको काम गर्ने योजना सरकारको रहेको उनले औंल्याए।

उनले जनाए, ‘चलचित्रमार्फत मौलिक क्षेत्रलाई प्रोत्साहन गर्ने चलचित्रलाई प्राथमिता दिएर सहुलियतसमेत दिन्छ। सोअनुसार बजेट तथा कार्यक्रम प्रस्ताव गरिन्छ।’

संसदीय विट लिएर समाचार संकलन गर्ने पत्रकारहरुका लागि सरकारले यथोचित व्यवस्था गर्ने उनले उल्लेख गरे।

‘संसदीय विट लिएर समाचार संकलन गर्ने पत्रकारहरुका लागि यथोचित व्यवस्थाका लागि काम भइरहेको छ।  सोहीअनुसार संसद सचिवालयले कतिपय काम गरिसकेको छ। आगामी दिनमा थप व्यवस्थापनको काम हुनेछ। सोहीअनुसार रिमोर्ट वर्क सम्बन्धमा नीतिगत रुपमा कामको तयारी भएको छ। एकीकृत सूचना प्रणालीमार्फत काम गर्ने तयारी पनि भएको छ। सूचनाको हकलाई प्रत्याभूत गर्ने काम पनि मन्त्रालयले गरिरहेको छ। सूचनामा नागरिकको सहज पहुँच पुग्नेगरी काम भइरहेको छ’, संसद बैठकलाई उनले जानकारी गराए।

सूचना प्रविधिको क्षेत्रलाई प्रवर्द्धन गर्न सरकारले काम गरिरहेको उनले सुनाए।

उनले आगामी दिनमा ‘टेक हव’ को रुपमा विकास गरिने उल्लेख गरे।

अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा पनि सोहीअनुसार काम गरिने उनले बताए।

दूर्गम क्षेत्रमा सहज इन्टरनेट चलाउनेगरी व्यवस्थापनको काम भइरहेको उनले बताए।

सरकारले तीव्ररुपमा काम जारी राखेको उनले औंल्याए।

उनले भने, ‘हरेक दिन, हरेक हप्ता र हरेक महिना काम गरिरहेका छौं। त्यसको अनुभूति जनतालाई गराउनेगरी काम भइरहेको छ। हेटौडा र कोहलपुरमा नयाँ सर्वर राखेर इन्टरनेट र मोबाइल सेवा सहज रुपले संचालन गर्नेगरी काम भइरहेको छ। त्यसको अनुभूति जनताले गर्नुभएको छ।’

त्यस्तै, डिजिटल भुक्तानीका लागि पनि सरकारले काम गरिरहेको मन्त्री तिमिल्सिनाले बताए।

उनले सूचना प्रविधि क्षेत्रमा मन्त्रालयले तीव्र रुपमा काम गरिरहेको जानकारी गराए।

‘आगामी एक वर्षभित्र दूर्गमदेखि सहज क्षेत्र सबै ठाउँमा स्तरीय मोबाइल नेटवर्क, इन्टरनेटको सहज प्रयोगको व्यवस्था गरिसकिन्छ। धेरै दूर्गम जिल्लामा इन्टरनेट सेवा पहुँच पुग्नेगरी काम गरिरहेको छ। सबै ठाउँमा फोरजी सेवा सुचारु गर्नेगरी काम भइरहेको छ। फोरजी नेटवर्कको क्षमता बृद्धिको कामपनि भइरहेको छ’, उनले स्पष्ट पारे।

इन्टरनेट सेवा अवरोध न्यूनीकरणका लागि सरकारले तीव्र रुपले काम गरिरहेको उनले औंल्याए।

सेवा प्रदायक संस्थासँग समन्वय र सहकार्य गरी काम भइरहेको उनको भनाई छ।

डिजिटल फ्रेमवर्कअनुसार सरकारको कामलाई डिजिटलरुपमा काम गर्नेगरी सरकारको ध्यान गएको उनले बताए।