पत्रकार महासंघ युकेले १५ औँ स्थापना दिवस मनायो

३ विशिष्ट व्यक्तित्वहरु सम्मानीत, ‘हामी पत्रकार’ गीत सार्वजनिक

जनसम्मत
असार २७, २०८३, शनिबार

नेपाल पत्रकार महासंघ (एफएनजे) युके शाखाले विविध कार्यक्रमका गरी हर्षोल्लासका साथ आफ्नो १५ औँ स्थापना दिवस मनाएको छ।

बेलायतको अल्डरसटस्थित एम्पायर हलमा शुक्रबार कार्यक्रमको आयोजना गरी शाखाले आफ्नो स्थापना दिवस मनाएको हो।

प्रमुख अतिथि एवं वरिष्ठ पत्रकार भगिरथ योगी, संस्थाकी अध्यक्ष विमला सेने, संस्थाका सल्लाहकार, पूर्वअध्यक्षलगायतले संयुक्त रूपमा केक काटेर शाखाको १५ औँ स्थापना दिवस मनाएका हुन्।

स्थापना दिवसको अवसरमा शाखाले यो वर्ष ‘वर्ष पत्रकारिता सम्मान-२०२६’ बाट वरिष्ठ पत्रकार मेजर सोनाम छिरिङ शेर्पालाई सम्मान गरेको छ।

बेलायतमा लामो समयदेखि नेपाली पत्रकारिताको विकास र प्रवर्द्धनमा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै शेर्पालाई सम्मान प्रदान गरेको हो।

त्यसैगरी, भूतपूर्व गोर्खा सैनिक, विश्व कीर्तिमानी पर्वतारोही तथा अपाङ्गताअधिकार अभियन्ता डा. हरि बुढामगरलाई विशेष सम्मान प्रदान गरेको छ।

देश र समाजका लागि विश्वस्तरमा पुर्‍याएको योगदान तथा प्रेरणादायी यात्राको कदर गर्दै बुढामगरलाई सम्मान गरेको हो।

सन् २०२३ मा दुवै घुँडामाथिबाट खुट्टा गुमाएका व्यक्तिमध्ये पहिलो पटक सगरमाथा आरोहण गरेर इतिहास रचेका बुढामगर हालै प्रतिष्ठित गिनिज वर्ल्डस् रेकर्डस् आइकन अवार्डबाट समेत सम्मानीत भएका छन्।

यस्तै, दुई दशकभन्दा बढी समयदेखि बेलायतमा रहेर नेपाली कला, साहित्य र संस्कृतिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएकी लेखक, अनुसन्धानकर्ता तथा कवयित्री डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’ लाई विशेष सम्मान गरेको छ।

‘युनिभर्सल पिस फेडेरेसन युके’ की अध्यक्षसमेत रहेकी ‘स्वेच्छा’ले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन्।

कार्यक्रममा पत्रकार गोमा रानामगर, उपाध्यक्ष प्रमिला लाबुङ राई र सचिव मञ्जु भण्डारी खरेलले क्रमशः सम्मानीत व्यक्तित्वको योगदानबारे प्रकाश पारे।

शाखाका वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतको शब्द रहेको पत्रकारिता विषयक गीत ‘हामी पत्रकार’ सार्वजनिक गरिएको छ।

आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहकार्यमा तयार पारिएको उक्त गीतले पत्रकारिताको निष्ठा, साहस, सत्य र सामाजिक उत्तरदायित्वलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।

कार्यक्रममा एनआरएनए युकेका संरक्षक डेभिड गुरुङ, नेफिन युकेका अध्यक्ष मेजर योगेशकोयी राई, फोनिज युकेका अध्यक्ष बम थापा ‘सूर्यवंशी’, पूर्वमेयर तथा काउन्सिलर विष्णु गुरुङ, नेपाल प्रहरीका पूर्वडीएसपी शिवजी श्रेष्ठ, तमुधीं युकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह युकेकी अध्यक्ष कमलदेवी गुरुङ, मगर संघ युकेका उपाध्यक्ष गुमानसिंह थापा, जीआरएनसीकी अध्यक्ष लीला सेलिङ मावोलगायत बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

सोही अवसरमा पीएचडी उपाधि हासिल गरेका डा. दूत पुन (चिम्खोले काइँला), एनआरएनए आईसीसीको उपाध्यक्षमा निर्वाचित विश्वास दीप तिगेला तथा गुल्मी समाज युकेको अध्यक्षमा निर्वाचित मञ्जु भण्डारी खरेललाई सम्मान गरिएको थियो।

कार्यक्रमलाई आर्थिक तथा भौतिक सहयोग पुर्‍याउने प्रायोजकहरू तथा नेपालबाट बेलायत आएका कलाकार शिवदास गुरुङ, अस्मिता रानामगर र राजेन्द्र केरुङलाई पनि सम्मान गरिएको थियो।

उनीहरूले समारोहमा संगीत तथा नृत्य प्रस्तुत गरे।

प्रमुख अतिथि भगिरथ योगीले पत्रकारहरूबीच एकता, सहकार्य र आपसी समझदारीलाई सुदृढ बनाउँदै संस्थाभित्र रहेका असन्तुष्ट पक्षलाई समेत समेटेर अघि बढ्न जोड दिए।

एनआरएनए युकेका संरक्षक डेभिड गुरुङले आगामी स्थापना दिवस नेपाली दूतावास, लन्डनमा आयोजना गर्न सुझाव दिए।

नेपाल प्रहरीका पूर्वडीएसपी शिवजी श्रेष्ठले पत्रकारिताको गरिमा जोगाउन व्यावसायिक पत्रकारलाई मात्र सदस्यता वितरण गर्नुपर्ने धारणा राखे।

अध्यक्ष विमला सेनेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन्।

शाखालाई अझ सशक्त, सकृय र एकताबद्ध बनाउँदै अघि बढ्ने उनले प्रतिबद्धता जनाइन्।

शाखाकी अध्यक्ष सेनेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रमिला लाबुङ राईले स्वागत मन्तव्य दिएकी थिइन्।

महासचिव खेमराज रानाभाटले कार्यक्रम संचालन गरेका थिए।

सचिव विश्वास दीप तिगेलाले नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मालगायत स्वदेश तथा विदेशबाट प्राप्त शुभकामना सन्देश वाचन गरेका थिए।

कार्यक्रममा कार्यसमितिका पदाधिकारी तथा सदस्य, सल्लाहकार, पूर्वअध्यक्ष, केन्द्रीय प्रतिनिधि, पत्रकार तथा बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।