पोखरामा पुष्पलाल स्मृति ब्याडमिण्टन जारी

जनसम्मत
श्रावण ९, २०७६, बिहीवार

पोखरा । पुष्पलाल स्मृति प्रथम राष्ट्रिय, दोश्रो गण्डकी प्रदेश तथा चौंथो कास्की जिल्ला स्तरीय ब्याडमिण्टन प्रतियोगिता जारी छ ।

प्रतियोगिता अन्तर्गत बुधबार विभिन्न इभेण्टमा प्रतिस्पर्धा भएका छन् ।

५५ वर्ष माथिको भेट्रान्समा कास्कीका जयराम हमाल र रामजी बाँस्तोलाको जोडीले फाइनलमा स्थान बनाएका छन् । जयराम जोडीले चितवनका पुष्प श्रेष्ठ र राजेन्द्र शाक्यको जोडीलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

राष्ट्रिय खुल्लातर्फ कास्कीका गणेश रायमाझी र शम्भु श्रेष्ठको जोडीले सुरेन्द्र हमाल र रोमन बानियाँको जोडीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे । विशाल खड्का र भुगोल गुरुङको जोडीले पाल्पाका बसन्त बज्राचार्य र विनय खातीको जोडीलाई पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

गण्डकी प्रदेशस्तरितर्फ बाग्लुङका विवेक जिसी र राजन खड्काको जोडीले कास्कीका रेशम आले र सिद्धार्थ लामाको जोडीलाई हराउँदै सेमिफाइनल पुगेको छ । कास्कीका विशाल हिराचन र बिरेन्द्र कुँवरको जोडीले कास्कीकै होम गुरुङ र प्रदिप श्रेष्ठको जोडीमाथि जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको प्रतियोगिता प्रचार प्रसार समिति संयोजक लक्ष्मण न्यौपानेले जानकारी दिएका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेपाल राष्ट्रिय बाणिज्य संघको संयुक्त आयोजनामा मंगलबारदेखि पोखरामा प्रतियोगिता शुरु भएको हो ।