भदौको १३ गतेदेखि मेयर कप बास्केटबल

पोखरा रंंगशालाको कोर्टमा मावि कक्षा १०, मावि कक्षा ११ र १२, स्नातक र ४० वर्षभन्दा माथि भेट्रान्स तहमा प्रतियोगिताको आयोजना गरिनेछ

जनसम्मत
भाद्र १, २०७६, आइतबार

पोखरा । यही भदौको १३ गतेबाट पोखरामा प्रथम मेयर कप बृहत् छात्रछात्रा बास्केटबल प्रतियोगिता हुने भएको छ ।

कास्की जिल्ला बास्केटबल संघको आयोजनामा विद्यालय, कलेज, क्याम्पस र भेट्रान्स तहमा बास्केटबल खेलको आयोजना गरेर प्रतियोगितालाई बृहत् बनाउने शनिबार पत्रकार सम्मेलनमा बताइएको छ ।

पोखरा रंंगशालाको कोर्टमा मावि कक्षा १०, मावि कक्षा ११ र १२, स्नातक र ४० वर्षभन्दा माथि भेट्रान्स तहमा प्रतियोगिताको आयोजना गरिने कास्की जिल्ला बास्केटबल संघका सल्लाहकार नारायण शर्माले बताए । शर्माले भने, ‘बास्केटबल खेललाई नगर, जिल्ला, क्षेत्र र राष्ट्रसम्म पु¥याउने प्रतियोगिताको उद्देश्य रहेको छ ।

खेलाडीहरुबीच आपसी सद्भाव, सामूहिक भावनाको विस गराउने र प्रतिभाशाली खेलाडी उत्पादन गरी खेल क्षेत्रमा बास्केटबलको विकास गर्ने लक्ष्यसहित पहिलो पटक प्रतियोगिता संचालन गर्न लागिएको संघका अध्यक्ष धोजकुमार गुरुङले उल्लेख गरे । प्रतियोगितालाई आगामी वर्षदेखि निरन्तरता दिने गुरुङले उल्लेख बताए ।

गुरुङले पोखरा महानगरपालिका कार्यलयको मुख्य प्रायोजन, क्षेत्रीय एवं जिल्ला खेलकुद विकास समिति र नेपाल बास्केटबल संघको विशेष सहयोगमा प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिए । गुरुङका अनुसार प्रतियोगिता सम्पन्न गर्न १३ लाख ५६ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

मावि कक्षा १० सम्मको तहको प्रतियोगिताको छात्रतर्फको विजेताका लागि १२ हजार तथा उपविजेताका लागि ७ हजार र शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ । त्यस्तै, १० कक्षासम्मकै छात्रातर्फको प्रतियोगिताको विजेताले १० हजार तथा उपविजेताले ६ हजार र शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

कक्षा १२ सम्मको मावि तहको प्रतियोगितामा छात्रतर्फ विजेताले १५ हजार तथा उपविजेताले ८ हजार र शिल्डड, मेडल र प्रमाणपत्र पुरस्कारको व्यवस्था छ । त्यस्तै, कक्षा ११ र १२ सम्मको छात्रातर्फको प्रतियोगिताका विजेताले १२ हजार र ७ हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

स्नातक तहसम्मको छात्रतर्फको प्रतियोगिताको विजेताले १५ हजार तथा उपविजेताले ८ हजार र शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । उक्त प्रतियोगिताकै छात्रातर्फकै विजेताले १२ हजार तथा उपविजेताले ७ हजार र शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ट्रफी पाउनेछन् ।

टिम दर्ताका लागि भदौको १० गते अन्तिम मिति तोकिएको प्रशिक्षक प्रदिप रसाइलीले जानकारी दिए । हालसम्म सवै तहका गरी ५० भन्दा बढि टिमले दर्ता गरिसकेको प्रशिक्षक रसाइलीले बताए । प्रशिक्षक रसाइलीका अनुसार मावि १० कक्षासम्मका लागि ३ हजार, कक्षा ११ र १२ तथा स्नातक तहका लागि ४ हजार र भेट्रान्सका लागि ५ हजार टिम दर्ता शुल्क तोकिएको छ ।

कास्की जिल्ला बास्केटबल संघले संघका संरक्षक एवं समाजसेवी कर्णेल जेपी क्रसको मूख्य प्रायोजनमा हरेक वर्षको मंसीरमा अन्तरविद्यालय छात्रछात्रा बास्केटबल प्रतियोगिता संचालन गर्दै आएको छ । उक्त प्रतियोगिता १७ औं संस्करणसम्म सम्पन्न भइसकेको छ । संघले हरेक वर्षको फागुनमा राष्ट्रिय भेट्रान्स बास्केटबल प्रतियोगिता संचालन गर्दै आएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेशकुमार गुरुङले पत्रकार सम्मेलनमा बोल्दै खेलाडीहरुको खेल भावना बुझ्न खेलकुद पदाधिकारी तथा कर्मचारीहरुलाई आग्रह गरे । ‘खेलाडीहरु छन र त हामी छौं, खेलाडीहरु छन् र त अफिसियलहरु छौं,’ उनले भने, ‘खेलाडीहरु रहेनन् भने हामी कोहीपनि हुँदैनौं भन्ने सोंच्नुप¥यो । खेलकुदका पदाधिकारी तथा कर्मचारीहरुले खेलकुदका नाममा भाषण मात्रै दिने, थपडी मात्र खाने र खादा मात्र लगाउने होइन ।’