ट्रायथलनको दुआथलनमा पोखराबाट नेपाललाई थप एक स्वर्ण

‘हामीले मागेको सामान समयमै परिषद्बाट आएको भए थप स्वर्ण जित्थ्यौं’

नारायण शाही
मंसिर १८, २०७६, बुधबार

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा सञ्चालित ट्रायथलन तर्फबाट नेपाललाई थप अर्को स्वर्ण मिलेको छ ।

मंगलबार भएको दुआथलनको खेलबाट नेपाललाई एक स्वर्ण प्राप्त भएको हो । पुरुषतर्फको स्प्रिन्ट बिधा अन्तरगतको दुआथलनमा नेपाललाई स्वर्ण पदक प्राप्त भएको हो ।

निर्धारित दुरीमा नेपालका हिमाल टमाटाले ५७ मिनेट ३३ सेकेण्डमा पार गरेर पुरुष तर्फको दुआथलनमा नेपाललाई स्वर्ण पदक दिलाए ।

त्यसैगरि, पुरुषतर्फको रजत पदक पनि नेपालले नै जितेको छ । लक्ष्मण मल्लले निर्धारित दुरी ५९ मिनेट १३ सेकेण्डमा पार गर्दै नेपाललाई रजत पदक दिलाए । ५९ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै श्रीलंकाका आशिथ पेरेराले कास्य पदकमा चित्त बुझाए ।

मंगलबार नै भएको महिलातर्फको स्प्रिन्ट विधाको दुआथलनमा श्रीलंकाले स्वर्ण र कास्य पदक प्राप्त ग¥यो । उक्त विधामा नेपालले रजत पदक जित्यो । श्रीलंकाकी एरेङ्गा दुलाक्सीले निर्धारित दुरी १ घण्टा ५ मिनेट ५८ सेकेण्डमा पार गर्दै स्वर्ण पदक हासिल गरिन् । १ घण्टा ८ मिनेट ५४ सेकेण्डमा दुरी पार गर्दै नेपालकी हुमी बुढामगरले रजत पदक जितिन् । श्रीलंकाकै उदय कुमारीले १ घण्टा ९ मिनेट ९ सेकेण्डमा दुरी पार गर्दै कास्य पदक हात पारिन् ।

यससँगै नेपालले ट्रायथलनका विभिन्न विधामा दुई स्वर्ण, दुई रजत र एक कास्य आफ्नो पक्षमा पा¥यो । मंगलबार भएको दुआथलनका लागि पुरुष तथा महिला तर्फका लागि ५ किलोमिटर दौड, २० किलोमिटर साइकिलिङ र २.५ किलोमिटर दौडको दुरी तय गरिएको थियो ।

पुरुषमा आशा गरेअनुसार नै नतिजा आएको बताउँदै ट्रायथलनका मुख्य प्रशिक्षक युवराज सिलवालले महिला खेलाडीमा केही कमजोर देखिएको स्वीकारे । सिलवालले भने, ‘हामीले चाहेको र मागेको सामान परिषद्बाट समयमा आएन । समयमा पाएको भए स्वर्ण थप्न सकिन्थ्यो ।’

बुधबार हुने मिक्स टिम रिलेमा स्वर्ण पदक आउने प्रशिक्षक सिलवालले प्रतिक्रिया दिए । नेपालका लागि स्वर्ण पदक जितेपश्चात हिमाल टमाटाले स्वर्ण कुनैपनि हालतमा जित्ने भनेर सहभागी रहेको प्रतिक्रिया दिए । ५ वर्षदेखि निरन्तर दुआथलनमा लागेका टमाटा भन्छन्, ‘एउटा सपना पुरा भयो । अवको सपना एसियन खेलमा स्वर्ण पदक जित्ने हो ।’

पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको खेलमा सहभागी रजत पदक विजेता हुमी बुढामगरले खेलमा आवश्यक पर्ने सामानहरु समयमै उपलब्ध भएको भए सायद स्वर्ण जित्न सक्ने प्रतिक्रिया दिइन् ।

बुधबार १ स्वर्णका लागि नेपाल, भारत र श्रीलंकाका खेलाडीहरु मिक्स टिम रिलेमा प्रतिस्पर्धा गर्नेछन् । मिक्स टिम रिलेमा प्रत्येक देशका २ पुरुष, २ महिलासहितको एक÷एक टिम रहनेछ । रिलेमा ३ सय मिटर पौडी, ६ किलोमिटर साइकिलिङ र २.५ किलोमिटर दौडको दुरी तय गरिएको छ ।