साग महिला फुटबलमा नेपाल–भारतको भिडन्त

जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला फुटबलमा माल्दिभ्सले कास्य पदक हात पारेको छ

जनसम्मत
मंसिर २२, २०७६, आइतबार

पोखरा । १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को महिला फुटबलमा भारतले अर्को जित निकालेको छ ।

पोखरा रंगशालामा भएको खेलमा भारतले आयोजक नेपाललाई १–० गोल अन्तरले हराउँदै समूह विजेता बनेको छ ।

चार देशमात्रै सहभागी भएकाले प्रतियोगिता राउन्ड रोबिनका आधारमा खेलाइएको थियो । जसमा शनिबार भएको भारत र नेपालबीचको खेललाई ‘प्रिभ्यू म्याच’ का रुपमा हेरिएको थियो ।

समूह विजेता र उपविजेता बनेपछि फाइनलमा पनि यी दुवै राष्ट्र भिड्नेछन् । यद्यपि, १ खेल अगावै दुवैले फाइनल यात्रा पक्का गरिसकेका थिए । दुवै देश स्वर्ण पदकका लागि सोमबार फाइनल खेल्नेछन् ।

भारतकी स्ट्राइकर एनजी बालादेवीले खेलको १८ औं मिनेटमा गोल गर्दै आफ्नो राष्ट्रलाई अग्रता दिलाइन् । खेल निकै प्रतिस्पर्धात्मक भएपनि बालादेवीको गोल नेपालले फर्काउन नसक्दा समूह उपविजेतामै सीमित हुन पुग्यो ।

नेपाली टिमले घरेलु मैदानमा नेपाली दर्शकले राम्रै साथ पाएको थियो । खेलको १० औ मिनेटमा सरु लिम्बुले डिबक्स भित्र पाएको राम्रो अवसरलाई बायाँ खुट्टाले प्रहार गर्दा बल फस्टबार नजिकैबाट बाहिरिएको थियो ।

सावित्रा भण्डारी ‘साम्बा’ लाई नेपाली टिमका गोल मेसिन मानिएपनि भारतविरुद्ध पाएको अवसरलाई गोलमा परिणत गर्न सकिनन् । उनले जारी सागमै अन्तर्राष्ट्रिय महिला फुटबल जगतमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाइन् ।

पहिलो हाफको २० औ मिनेटमा सावित्रा भण्डारी ‘साम्बा’ले हानेको प्रहार गोल पोष्ट नजिकबाट बाहिरिएको थियो । भारतले पाएको थोरै अवसरलाई उनीहरुले खेर फालेनन् ।

नेपाली टिमले सुखद नतिजा भने दिलाउन नसकेको नेपाली टिमका प्रशिक्षक हरि खड्काले स्वीकारे । प्रशिक्षक खड्काले भने ‘भारतसँग हाम्रो खेल एकदमै टफ लेबलको थियो । तर, पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा हा¥यौं ।’

भारतीय प्रमुख प्रशिक्षक म्यामल रक्की खेल जित्न धेरै कठिन भएको प्रतिक्रिया दिइन् । उनले भनिन् ‘आजको खेल एकदमै प्रतिस्पर्धात्मक भयो । मलाई लाग्छ हामीलाई मात्रै होइन, विपक्षीलाई पनि खेलअवधिभर उत्तिकै प्रेसर भएको हुन सक्छ ।’

माल्दिभ्सलाई कास्य

जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला फुटबलमा माल्दिभ्सले कास्य पदक हात पारेको छ । शनिबार भएको खेलमा माल्दिभ्सले श्रीलंकालाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

राउन्ड रोबिन लिग आधारमा भएको खेलमा श्रीलंका र माल्दिभ्स दुवैले जारी प्रतियोगितामा खाता खोल्न सकेका थिएनन् । दुवै नेपाल र भारतसँग पराजित हुँदै तेस्रो स्थानका लागि भिडेका हुन् । लिगमा तल्लोस्थानमा रहेकैले शनिबार भएको खेलबाट कास्य पदक छिनोफानो गरिएको हो ।

खेलको अग्रता माल्दिभ्सका ऐसथ फिरुसाले ४३ औं मिनेट गोल गर्दै लिएकी थिइन् । पहिलो हाफको अन्तिमा समयमा गोल खाएपछि श्रीलंका दबाबमा परेको थियो । लगत्तै दोस्रो हापको पहिलो मिनेट (४६)औं मिनेटमा माल्दिभ्सकै अमिनाथ सामिलाले गोल गर्दै अग्रता दोब्बर गरेकी थिइन् । श्रीलंकाकी चलानी एकनायकाले ७१ औं मिनेटमा गोल गर्दै माल्दिभ्सको गोलअन्तर घटाएकी थिइन् ।