अख्तियारद्वारा एकैदिन ७ जनाविरुद्ध मुद्दा दायर

रासस
पौष २३, २०७६, बुधबार

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धानले आफ्नो पदको दुरुपयोग तथा प्रहरी निरीक्षकलाई नै घुस दिएर भ्रष्टाचार गरेको अभियोगमा ७ जनाविरुद्ध बुधबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ ।

आयोगले सप्तरीको महादेवा गाउँपालिका–६ का वडासचिव नवोनाथ मिश्र, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी जवान सरोजकुमार यादव, कर्णाली प्राविधिक शिक्षालयमा कृषि प्रशिक्षण सहायक चन्द्रसिंह खत्री उनका सहयोगीहरु टंकप्रसाद चौलागाईं र गंगाराज शाही तथा स्याङ्जा वालिङ नगरपालिका–८ का चौपाया व्यापारी जहरुद्दिन तेलीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन वडा सचिव मिश्रलाई २ लाख सेवाग्राहीसँग घुस लिएको, प्रहरी जवान यादवले घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिन १५ हजार असुलेको, खत्री, चौलागाईं र शाहीले उत्तर पुस्तिका परिवर्तनका साथै परीक्षाको गोपनीयता भंग गरेका तथा तेलीले गोरु व्यापारमा सघाउन प्रहरी निरीक्षकलाई घुसबापत १५ हजार उपलब्ध गराएकाले घुसबापत दिए/लिएको बिगो रकम जफत हुनुपर्ने मागदाबीसहित आरोपपत्र दायर गरेको आयोगले जनाएको छ ।