एमएम कप क्रिकेटमा पुलिस सेमिफाइनलमा

समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा प्रदेश–२ लाई ४६ रनले पराजित गर्दै नेपाल पुलिसले अन्तिम चारको स्थान सुरक्षित गरेको हो

जनसम्मत
पौष २८, २०७६, सोमबार

पोखरा । नेपाल पुलिस क्लब इनरुवामा जारी एमएम कपको सेमीफाइनल पुग्ने तेस्रो टिम बनेको छ । समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा शुक्रबार प्रदेश–२ लाई ४६ रनले पराजित गर्दै नेपाल पुलिसले अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।

अन्तिम चारमा स्थान बनाउन दुवै टिमका लागि शुक्रबारको खेल जित्नैपर्ने थियो । जसमा वलरले उत्कृष्ठ प्रर्दशन गरेपछि नेपाल पुलिसले नतिजा आफ्नो पक्षमा पार्न सफल बन्यो ।

पुलिसले प्रस्तुत गरेको १ सय ८४ रनको लक्ष पछ्याउँदै मैदान उत्रेको प्रदेश २ को पारी १ सय ३७ रनमा समेटियो । पहिलो पारीमा पुलिसलाई मध्यम स्कोरमा समेट्न सफल बनेको प्रदेश–२ को ब्याटिङ भने चल्न सकेन् ।

निर्णायक खेलमा ब्याट्सम्यान नचल्दा प्रदेश–२ ४२ दशमलव २ ओभरमा सबै विकेट गुमाउन पुग्यो । पराजयसँगै प्रदेश–२ समूह चरणबाटै बाहिरिएको छ ।

प्रदेश–२ का बिशाल सुस्लिङले ८० रनको पारी खेलेपनि टिमलाई जिताउन सकेनन् । प्रदेश–२ का ४ ब्याट्सम्यान शून्य रनमा पेभेलियन फर्किए । हरिशंकर साहले १८ र हसिम अन्सारीले टिमका लागि १० रन जोडे ।

प्रदेश–२ लाई अलआउट गर्ने क्रममा पुलिसका दीपेन्द्र ऐरी र ललितसिंह भण्डारीले समान ३/३ विकेट लिए । पवन सर्राफले २ विकेट हात पारे । ललित राजवंशी र सागर ढकालले समान १/१ विकेट लिए ।

त्यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको पुलिसको सुरुवात समेत राम्रो हुन सकेन् । मध्यम सुरुवात गरेको पुलिसका सुनिल धमला र अमित श्रेष्ठले पहिलो विकेटका लागि ३६ रन जोडे ।

व्यक्तिगत ७ रनमा रनआउटका रुपमा धमलालाई गुमाएको पुलिसले लय गुमाउँदै गयो । त्यसपछि, पुलिसको विकेट पतनको क्रम सुरु भयो । मध्यम क्रमका ब्याट्सम्यान नचल्दा धराशायी बनेको पुलिसको पारीलाई दीपेन्द्र ऐरी र राशिद खानले उकासे । दुवैले सातौं विकेटका लागि ४७ रनको महत्वपूर्ण साझेदारी गरे ।

पुलिसका दीपेन्द्र ऐरीले ५ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ५० रनको योगदान दिए । टिमका लागि अमित श्रेष्ठले ३७, अनिल साहले १९ र राशिद खानले १६ रन जोडे । पुलिसले ३३ रन अतिरिक्त पाएको थियो ।

प्रदेश–२ का लेग स्पिनर कुमार थापा एक्लैले पुलिसको ५ विकेट लिए । १० ओभर वलिङ गरेका थापाले ३ ओभर मेडन राख्दै ३२ रन दिए । विवेक यादव र राहुलप्रताप सिंहले समान २/२ विकेट लिए ।

दीपेन्द्रसिंह ऐरी खेलको ‘प्लेयर अफ दी म्याच’ बने । प्रतियोगिता अन्तर्गत शनिबारबाट समूह ‘डी’ का खेलहरु हुनेछन् । शनिबारको खेलमा सुदुरपश्चिम प्रदेशले मलेसिया–११ को सामना गर्नेछ । जारी प्रतियोगितामा प्रदेश–३ सँगै विभागीय टिम आर्मी यस अघिनै अन्तिम चारमा प्रवेश गरिसकेका छन् ।