गण्डकीको दुबै टिम ह्याण्डबलको सेमिफाइनलमा

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता

जनसम्मत
वैशाख ८, २०७६, आइतबार

नेपालगञ्ज ।  गण्डकी प्रदेश आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको महिला तथा पुरुषको दुबै टिम सेमिफाइनलमा पुगेको छ ।

गण्डकी प्रदेशले आफ्नो लिग चरणका तीन÷तीन खेलमा लगातार जित हासिल गर्दै अन्तिम चारमा स्थान बनाएको हो । नेपालगन्जको जिल्ला प्रशासन कार्यालय परिसरमा भएको महिलातर्फको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशमाथि एकतर्फी शुन्यका बिरुद्ध २४ गोल बर्षायो । लिगको तेश्रो खेलमा दिप्ती गुरुङले डवल ह्याट्रिक पुरा गरिन् ।

गण्डकी प्रदेशले लिगको अन्तिम खेल त्रिभुवन आर्मीसंग आइतबार खेल्ने भएको प्रशिक्षक बिष्णु गुरुङले बताए । आइतबारको खेलमा जितेमा समुह विजेता हँुदै र पराजित भएमा समुह उपविजेता हुँदै गण्डकी प्रदेशको अन्तिम चारमा स्थान पक्का भएको हो ।

त्यसैगरी, नेपालगन्जको रंगशाला परिसरमा शनिबार भएको पुरुषतर्फको खेलमा त्रिभुवन आर्मीलाई गण्डकी प्रदेशले २१ को बिरुद्ध २४ गोल गरी अन्तिम चारमा स्थान पक्का गरेको हो । गण्डकीको जितमा सन्तोस श्रेष्ठले सर्वाधिक ११ गोलको योगदान दिए ।

गण्डकीका गोलरक्षक बिशाल नेपालीले पटक पटक आर्मीको प्रहारलाई उत्कृष्ट बचाउ गरेका थिए । लिगको अन्तिम खेल गण्डकी प्रदेशले आइतबार प्रदेश नम्बर ५ संग प्रतिस्प्रर्धा गर्ने भएको प्रशिक्षक भिमशेन शाक्यले बताए । उक्त टिमलाई जितेमा समुह विजेता हुँदै सेमिफाईनलमा प्रबेश गर्छ भने पराजित भएमा समुह उपविजेता हुदै सेमिफाइनलमा सिधा प्रबेस गर्छ ।

शनिबार भएको लिग चरणको पहिलो खेलमा प्रदेश नम्बर ५ ले हेमन्त थापाको ६ गोलको मद्धतले कर्णाली प्रदेशलाई २२–१८ को गोल अन्तरले पराजित गरेको हो । कर्णालीका केशव विष्टले ७ गोल गरे । उनले यस अघिका खेलमा पनि न्यूनतम ५ गोल भन्दा माथि गर्दै छन् ।

यसैबीच, पुरुषतर्फ भएको तेस्रो खेलमा विभागीय सशस्त्र प्रहरी बलको एपीएफले प्रदेश नं १ लाई २६–१० गोलले हरायो । एपीएफका लोकेन्द्र चन्द र रणसिंह साउदले सर्वाधिक ६ गोलको बराबरी योगदान गरे ।

चौथो खेलमा प्रदेश नं ३ ले प्रदेश नं २ लाई ३६–१४ को फराकिलो गोल अन्तरले हरायो । उक्त खेलमा प्रदेश नं ३ का आशिष अधिकारीले सर्वाधिक १३ गोल गरे । शुक्रबार स्थगित प्रदेश नं ५ र प्रदेश नं ७ बीचको खेल १४–१४ मा टुंगियो ।

यता, महिलातर्फको ह्याण्डबलमा शनिबार भएको पहिलो खेलमा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले प्रदेश नं ५ लाई ४४–७ को फराकिलो गोल अन्तरले हरायो । आर्मीकी शान्तिकला राईले सर्वाधिक ९ गोल गरिन् ।

शनिबार नै भएको महिलातर्फको दोस्रो खेलमा प्रदेश नं ३ ले कर्णाली प्रदेशलाई ८–५ गोलले हरायो । उक्त खेलमा प्रदेश नं ३ की निरुता बुढाथोकी मगरले सर्वाधिक २ गोल गरिन् ।

त्यस्तै, तेस्रो खेलमा प्रदेश नं १ ले प्रदेश नं २ लाई २२–५ गोलले हरायो । उक्त खेलमा प्रदेश नं १ की निशा राईले सर्वाधिक १३ गोल गरिन् । चौथो खेलमा विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रदेश नं ७ लाई ३५–१ को फराकिलो गोल अन्तरले हरायो । उक्त खेलमा एपीएफकी उमा राइले सर्वाधिक १० गोल गरिन् ।

त्यसैगरी, गण्डकी प्रदेशका खेलाडीहरुले विभन्नि ठाउँमा भएको खेलमा उत्साहजनक रुपमा सहभागिता जनाएको पशिचमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए ।

गण्डकी प्रदेशलाई आइटीएफ तेक्वान्दोबाट ३ रजत

 

खुल्लातर्फ हुने आर्चरी, वडी विल्डिङ र ट्रायथलतर्फको मेडलको कुनै टिमका गणना नहुने उनले जनाए ।

त्यस्तै, नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको आइटीएफ तेक्वान्दोबाट गण्डकी प्रदेशले ३ वटा रजत पदक हात पारेको सहायक प्रशिक्षक प्रतिक घर्तीमगरले बताए । उनका अनुसार सुस्मीता थापा, वसन्ती थापा र समुह महिला तर्फ दोश्रो हुँदै रजत पदक हात पारेका हुन् । महिला टिममा, स्नेहा मसिना तामाङ तामाङ, सुस्मिता थापा, सृजना थापा र अनुष्का बुढा रहेका थिए ।

नेपालगन्जको रंगशाला परिसरमा सुटिङ र उसुको खेल जारी छ । शनिबार सुटिङतर्फ महिला तथा पुरुषको एअर–राइफल र एअर–पेस्तोलको पहिलो चरणको खेल भएको ओलम्पियन भगवती केसीले बताइन् ।

उनका अनुसार महिला पुरुषका ८ जना खेलाडीहरु प्रतियोगितामा सहभागि छन्। त्यसैगरी, गण्डकी प्रदेशबाट उसुतर्फ थाउलो र सानसौ गरी महिला तथा पुरुषका २२ जना खेलाडीहरु सहभागी भएको प्रशिक्षक दिलबहादुर किसानले बताए । शनिबार क्वाटरफाइनलका खेलहरु भएका छन्।

त्यसैगरी, नेपाल प्रहरीको तालिम केन्द्रमा भएको आर्चरी प्रतियोगितामा कास्कीका खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गरेका छन्। उक्त प्रतियोगितामा कास्कीले कम्तिमा ४ वटा स्वर्ण पदक ल्याउने प्रमुख निर्णायक योगेन्द्र शेरचनले बताए ।

पुरुष एकलतर्फ आर्मीका तवीन गुरुङ र काठमाण्डौंको वेस आर्चरीका प्रान्जल राई फाइनलमा प्रबेस गरेका छन्। सोही इभेन्टको महिलातर्फ अन्नपूर्ण आर्चरी क्लव कास्कीकी अर्चना थापा र अन्नपूर्णकै अनुसा गुरुङ फाइनलमा प्रबेश गरेका छन् । स्ट्याण्डर पुरुष समुहतर्फ आर्मी र वेस आर्चरी फाइनलमा प्रबेश गरेका छन् ।

३० मिटरको दुरीमा महिला समुह तर्फ अन्नपूर्ण आर्चरी क्लव र कन्चनपुर आर्चरी क्लव फाइनलमा प्रबेस गरे । मिक्स टिमतर्फ अन्नपूर्णका राजकुमार छन्त्याल र अर्चना थापाको जोडी फाइनलमा पुग्दा आर्मीका तविन गुरुङ गुरुङ र मन्वु बजगाइ फाइनलमा पुगेका हुन्।

७० मिटर रिकभ खुल्ला एकल तर्फ कास्कीका आशिम शेरचन र मुकेस तामाङ फाइनलमा प्रबेस गरे भने महिलातर्फ आर्मीकी ज्ञानु अवाले र आर्मीकै मित्र राई फाइनलमा यात्रा बनाएका हुन्।

पुरुष एकल ५० मिटर तर्फ जाग्रित गुरुङ र राजेश राना फाइनलमा प्रबेश गरे । टिम रिकभ पुरुष तर्फ कास्की र नेपाल पुलिस फाईनलमा प्रबेश गरे । रिकभ मिक्स टिममा आर्मीका रोसन नगरकोटी र ज्ञानु अवालेको जोडी तथा आर्मीका डम्बर थापा र आयिषा तामाङ फाइनलमा प्रबेस गरे ।

त्यस्तै, पुरुषतर्फ भएको फुटवल खेलमा एपिएफसंग गण्डकी प्रदेश २–१ ले पराजित भएको प्रशिक्षक शम्भु केसीले बताए । गण्डकी प्रदेशले लिग चरणका दुई खेलमा पराजित एकमा बराबरी खेलेको छ ।