गण्डकीलाई आइटीएफ तेक्वान्दोमा १ स्वर्ण, २ कास्य पदक

नेपालगञ्ज, आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता

जनसम्मत
वैशाख ८, २०७६, आइतबार

नेपालगञ्ज । नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइटीएफ तेक्वान्दोबाट गण्डकी प्रदेशले १ स्वर्ण र २ कास्य पदक हात पार्न सफल भएको छ ।

आइतबार भएको महिलातर्फको ४६–५० केजी तौल समुहमा गण्डकी प्रदेशकी सुस्मिता थापामगरले स्वर्ण पदक दिलाएकी हुन् । उनले प्रदेश नम्बर ३ की निलिमा सुनुवारलाई फाइनल खेलमा पराजित गर्दै स्वर्ण पदक दिलाएकी हुन् ।

त्यसैगरी, पुरुष एकलतर्फ ५१ देखि ५५ केजी तौल समुहमा सागर शम्शेर कुँवर र महिलातर्फको उक्त इभेन्टमा गोमा थारुले कास्य पदक दिलाएकी हुन् ।

शनिबारको खेलमा गण्डकी प्रदेशले ३ रजत पदक प्राप्त गरेको मुख्य प्रशिक्षक सुरज सुनारले बताए ।

ह्याण्डबलमा गण्डकीको दुवै टिम सेमीफाइनलमा

नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत ह्याण्डबलमा गण्डकी प्रदेशबाट महिला पुरुषतर्फको दुवै टिम सेमीफाइनल प्रवेश गरेको छ ।

गण्डकीको पुरुषतर्फको ह्याण्डबल प्रतियोगिताको लिग चरणमा चार खेल जित्दै सेमिफाइनल पुगेको हो । समुह ए मा रहेको गण्डकीले कर्णाली, विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, आयोजक प्रदेश नं ५ र प्रदेश नं ७ सँगको खेलमा चार खेल जित्दै समुह विजेता बन्दै सेमीफाइनल पक्का गरेको छ ।

सोमबारदेखि सेमीफाइनलका खेलहरु हुनेछन् । सेमीफाइनलमा गण्डकीले प्रदेश नं ३ सँग सेमीफाइनल खेल खेल्नेछ । विभागीय आर्मीले अर्को विभागीय सशस्त्रको एपीएफसँग सेमीफाइनल खेल्नेछ ।

आइतबार भएको अन्तिम लिग चरणको खेलमा गण्डकीले पुरुषतर्फ आयोजक प्रदेश नं ५ लाई ४२–१२ को फराकिलो गोल अन्तरले हरायो । गण्डकीको जितमा चन्द्र केसीको सर्वाधिक ११ गोलको योगदान रह्यो ।

त्यस्तै, महिलातर्फको खेलमा गण्डकीले तीन जित निकाल्दै समुह उपविजेता बन्दै सेमीफाइनल पक्का ग¥यो । गण्डकीले प्रदेश नं ३, प्रदेश नं ५ र कर्णालीसँगको खेलमा जित निकाल्यो भने विभागीय आर्मीसँगको खेल हारेपनि उपविजेता बन्दै सेमीफाइनलमा सशस्त्रसँगको भेट पक्का ग¥यो ।

महिलातर्फको ह्याण्डबलमा विभागीय सशस्त्रको एपीएफले चार खेल जित्दै सेमीफाइनल पुगेको हो । सेमीफाइनलमा गण्डकीले विभागीय सशस्त्रको एपीएफसँग खेल्नेछ भने विभागीय आर्मी र प्रदेश नं १ दोस्रो सेमीफाइनल खेल खेल्नेछ ।

लिग चरणको अन्तिम खेलमा गण्डकीले विभागीय नेपाली सेनाको त्रिभुवन आर्मीसँग ७ गोलविरुद्ध ३० गोलको फराकिलो अन्तरले हा¥यो । उक्त खेलमा आर्मीका कोपिला राईले सर्वाधिक ११ गोल गरिन् ।

ह्याण्डबलमा पुरुषतर्फको खेलमा स्वर्ण र महिलातर्फको खेलमा गण्डकी प्रदेशले कास्य पदकको आशा गरेको सहकायक प्रशिक्षक गणेश अर्यालले बताए । प्रशिक्षक अर्यालले भने, ‘पुरुषतर्फको ह्याण्डबल सेमीफाइनल खेल सजिलै जित्छौं, फाइनलका लागि रणनीति बनाएर स्वर्ण जित्ने दाउमा हुनेछौं ।’

पौडीमा आर्मीको वर्चस्व

नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पौडीका खेलहरु सम्पन्न भएका छन् ।

पौडी प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले तीन स्वर्ण जितेको छ । चार स्पर्धामा भएको पौडीमा एनआरएनले एक स्वर्ण जितेको छ ।
महिला ८ सय मिटर फ्रिस्टाइलमा आर्मीकी उपास्ती महर्जनलाई पराजित गरी आर्मीकै गौरीका सिंहले स्वर्ण जितिन् । उक्त स्पर्धामा गौरिकाले विधामा नेपाल पुलिस क्लवका सामिरा शोभा थापाले कास्यमा चित्त बुझाइन् ।

नेपालकी नम्बर वान महिला पौडी खेलाडी गौरिका सिंहले ३ नयाँ राष्ट्रिय रेकर्ड बनाउदा तेन्जिङ एनआर गुरुङ र शुभम श्रेष्ठले एक एक नयाँ राष्ट्रिय किर्तिमान बनाएका छन् ।

गौरिकाले रेकर्डसँगै दुई स्वर्ण पदक हात पार्दा गुरुङ र श्रेष्ठले समेत एक÷एक स्वर्ण पदक जितेका छन् । नेपाली सेनाकी गौरिकाले आइतबार बिहान भएको ८ सय मिटर फ्री स्टाईलको सर्ट कोर्षमा ९ मिनेट ३९ सेकेन्ड २२ मिलि सेकेन्डमा पूरा गरेकि थिइन् ।

८ सय मिटरमा दोस्रो हुँदै रजत जितेकी उपस्थी महर्जनले ११ मिनेट ९ सेकेन्डमा पुरा गर्दा तेस्रो भएकी समेरा शोभा थापाले ११ मिनेट १६ सेकेन्डमा दुरी पूरा कास्य जितिन् ।

८ सय मिटरको पुरुष स्पर्धामा गैरआवासीय नेपाली संघका नाथध्वज शेर्पाले निर्धा्रित दुरी ९ दशमलव १८ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जित्दा एपीएफका नाजिर हुसेनले रजत पदक जिते त्यस्तै एपीएफकै उर्गिन महाराजनले कास्य हात पारे । त्यस्तै महिला तर्फको ५० मिटर पौडीको ब्याकस्टोकमा गौरिकाले स्वर्ण हात पार्दा हिट चरण र फाइनलमा समेत राष्ट्रिय रेकर्ड कायम गरेकी थिइन् । उनले फाइनलमा ३१ सेकेन्ड २२ मिलि सेकेन्डमा दुरी पूरा गरेकी थिइन् । योसँगै गौरिकाले सर्ट कोर्समा नयाँ दुई कीर्तिमानी बनाएकी छन् ।

दोस्रो भएकी नेपाल पुलिस क्लबकी अनुस्का पोखरेलले ३८ सेकेन्डमा दुरी पूरा गर्दै रजत हात जितिन् । ५० मिटरमै तेस्रो एपीएफकी युस्का महर्जनले ४० सेकेन्डमा दुरी पार गर्दै कास्य जितिन् ।

पुरुष ५० मिटर पौडीमा एपीएफका तेन्जिङ एनआर गुरुङले ३२ दशमलव ८१ सेकेन्डमा दुरी पूरा नयाँ रेकर्ड संगै स्वर्ण जिते । १ सय मिटर महिला पौडीमा आर्मीका डुना लामाले स्वर्ण जित्दा पुरुषतर्फ एपीएफका शुभम श्रेष्ठले १ मिनेट ८ सेकेन्ड १५ मिलि सेकेन्डमा पूरा गर्दै नयाँ किर्तिमानसँगै स्वर्ण पदक जिते ।

पुरुष ८ सय मिटर फ्रिस्टाइल पौडी प्रतियोगितामा एनआरएनका नाथनध्वज श्रेष्ठले स्वर्ण पदक जिते । एपीएफका नासिर हुसैनले रजत र एपीएफकै अर्जिन महर्जनले कास्य पद हात पारे ।

महिला २ सय मिटर बटरफ्लाईमा आर्मीकी दुआना लामाले स्वर्ण हात पार्दा एपीएफकी श्रीवी महर्जनले रजत र एपीएफकै दिया स्थापितले कास्य जितिन् ।

पुरुष २ सय मिटर बटरफ्लाइमा त्रिभुवन आर्मीका अनुभव सुब्बाले स्वर्ण जिते । उनले २ मिनेट २० सेकन्डमा दूरी पार गरे । २ मिनेट २३ सेकन्डमा दूरी पार गरेका एनआरएनका नाथनध्वज श्रेष्ठले रजत र नेपाल पुलिसका सैयद हमजा शाहले कास्य पदक जिते ।

रंगशालाको सट्टा होटलमा पौडीका खेलहरु

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पौडी पोखरीको काम नसकिदा उक्त स्पर्धाका संपुर्ण खेलहरु नेपालगञ्जस्थित एउटा होटलको स्वीमिङ पुलमा हुने भएको छ । नेपालगञ्जस्थित महेन्द्र रंगशाला परिसरमा निर्माणाधीन आठौं खेलकुदका लागि निर्माण गरिएको पौडी पोखरी निर्धारित समयमा निर्माण कार्य नहुँदा पौडीका स्पर्धाहरु नेपालगञ्जको एउटा होटलमा सारिएको हो ।

नेपालगञ्जको धम्बोजीस्थित सिंग्नेट होटलमा रहेको स्वीमिङ पुलमा प्रतिस्पर्धा गर्न लागेकोको प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषदले जानकारी गराएको छ । आठौं राष्ट्रिय खेलकुद अन्तरगत पौडीका स्पर्धाहरु आइतबारदेखि सुरु गरेको छ ।