नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक

जनसम्मत
भाद्र ३१, २०७९, शुक्रबार

यही असोजको २८ गतेदेखि गण्डकी प्रदेशमा हुने आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद्का संरक्षक तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि तयार पारिएको ट्रफी सार्वजनिक गरेका हुन्। ट्रफी सार्वजनिकपछि प्रधानमन्त्री देउवाले खेलकुदले नयाँ गति लिन लागेको र यसका लागि सरकारको सहयोग रहने बताए।

‘खेलकुदले गति लिँदै छ, यसका लागि सरकारको सहयोग सधैँ रहनेछ,’ प्रधानमन्त्री देउवाले भने।

५ केजी चाँदीको ट्रफीमा २ तोला सुनले कुँदिएको काठको बेसमा बनाइएको छ। ट्रफी १० लाख मूल्यबराबर रहेकोे छ। आयोजक राष्ट्रिय खेलकुद परिषद्ले पहिलोपटक रनिङ ट्रफी च्याम्पियन टोलीलाई प्रदान गर्न लागेको जनाएको छ। ट्रफीको परिकल्पनाकार नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ हुन्। ट्रफीका शिल्पकार श्याम तुलाधर रहेका छन्।

ट्रफी निर्माण गर्न ५ जना कालीगडले दैनिक १८ घन्टाका दरले २५ दिनको समय तयार पारेका हुन्। ट्रफी पूर्ण कलशको स्वरूपमा रहेको छ।

नेपाली संस्कृतिअनुरूप कुनैपनि शुभकार्य, मंगलकार्य र विजय उत्सवका बखत कलशलाई पूजापछि मात्र कार्य शुभारम्भ गर्ने परम्परालाई आधार मानेर ट्रफीको निर्माण गरिएको छ। ट्रफी नवौँ राष्ट्रिय खेलकुदमा सहभागी ७ वटै प्रदेश, ३ विभागीय टोली र एनआरएनएमा परिक्रमा गराइनेछ।