म्यानचेस्टर सिटीले जित्यो यस सिजनको इङ्लिस प्रिमियर लिगको उपाधि

लिभरपुल ९७ अंकसहित दोस्रो, चेल्सी ७२ अंकसहित तेस्रो र टोटानह्याम ७१ अंकसहित चौथो स्थानमा

एजेन्सी
वैशाख ३०, २०७६, सोमबार

म्यानचेस्टर सिटीले ब्राइटनलाई ४–१ ले हराउँदै इंग्लिस प्रिमियर लिगको उपाधि जित्यो ।

प्रिमियर लिगको यो सिजनको अन्तिम खेलमा ब्राइटन एण्ड होभ अल्वियोनलाई ४–१ ले पराजित गर्दै म्यान्चेष्टर सिटीले उपाधि जितेको हो । योसँगै म्यानचेस्टर सिटी सन् २००९ यता लगातार दोस्रो पटक लिगको उपाधि जित्ने पहिलो टिम बनेको छ ।

खेलको २७ मिनेटमा ब्राइटनका लागि ग्लेन मुरेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर त्यो ब्राइटनको अग्रतालाई टोलीले कायम राख्न सकेन । सिटीले ब्राइटनको त्यो अग्रतालाई एक मिनेटमै तोडिदियो । खेलको २८ औँ मिनेटमा म्यानचेस्टर सिटीका लागि सर्जियो अगुइरोले बराबरी गोल गरे । त्यसपछिको खेलमा पूरा हाबी रहेको म्यानचेस्टर सिटीले तीन गोल थप्यो ।

खेलको ३८ औँ मिनेटमा म्यानचेस्टर सिटीका लागि एमेरिक लापोर्तेले दोेस्रो गोल गरे । खेलको ६३ औँ मिनेटमा रियाद मेहरेजले सिटीका लागि तेस्रो गोल गरे भने चौथो गोल ७२ औँ मिनेटमा इल्के गुन्डोगानले गरे ।

म्यानचेस्टर सिटीले २०१८/0१९ सिजनमा ३८ खेलमध्ये ३२ मा जित हात पार्दै ९८ अंकका साथ प्रिमियर लिगको उपाधि उचाल्यो ।

म्यानचेस्टर सिटीसँगै अन्तिमसम्म उपाधि होडमा रहेको लिभरपुल फुटबल क्लबले अन्तिम खेलमा वुल्भ्सलाई २–० ले हराए पनि सिटीले खेल जितेका कारण उ दोस्रो स्थानमा रह्यो । लिभरपुलका लागि साडियो मानेले १७ औँ र ८१ औँ मिनेटमा गोल गरे ।

लिभरपुलले ३८ खेलमध्ये ३० खेलमा जित हात पार्दै ९७ अंकका साथ दोस्रो स्थानमा रहँदा ७२ अंकका साथ चेल्सी तेस्रो स्थानमा रहन सफल भयो । त्यस्तै टोटनह्याम ७१ अंकका साथ चौथो स्थानमा रहन सफल भएको छ ।

गोल्डेन बुट अवार्ड संयुक्त तीन खेलाडीलाई

इङ्लिस प्रिमियर लिग फुटबलको गोल्डेन बुट अवार्ड तीन खेलाडीलाई संयुक्त रूपमा प्रदान गरिएको छ । गोल्डेन बुट अवार्ड लिभरपुलका मोहमद सलाह, साडियो माने र आर्सनलका पिर्रे एम्रिक आबुमियाङलाई संयुक्त रुपमा प्रदान गरिएको हो ।

प्रिमियर लिगको यस सिजन तीनै खेलाडीले समान २२/ २२ गोल गोल गरेका थिए । त्यसैले तीनै खेलाडीलाई गोल्डेन बुट अवार्ड प्रदान गरिएकाे हाे । अघिल्लो संस्करणमा मोहमद सलाह एक्लैले गोल्डेन बुट अवार्ड जितेका थिए ।

यसैगरी प्रिमियर लिगको गोल्डेन ग्लोभ्स अवार्ड लिभरपुलका गोलरक्षक एलिसन बेकरले हात पारेका छन् ।