पोखराको यातायातलाई हरित प्रणालीमा विकास गरिदैं

कोरियाले पहिलो चरणमा १५ लाख डलर खर्च गर्ने

जनसम्मत
कार्तिक १, २०७९, मंगलवार

पोखराको यातायात प्रणालीलाई हरित प्रणालीमा विकास गर्न प्रक्रिया सुरु भएको छ।

कोरियाली विज्ञहरूको टोली र पोखरा महानगरपालिकाबीच हरित यातायात प्रणालीबारे छलफल गरिएको छ । छलफल पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवर्द्धन गर्ने विषयमा केन्द्रीत थियो।

परियोजनाअन्तर्गत कोरियाले पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्ने सहमति भएको छ। ५ दिनसम्म पोखरामा रहेको टोलीले यहाँको सार्वजनिक यातायात र यसको रुटबारे स्थलगत अध्ययन गरेको हो।

टोलीका प्रमुख रेलमार्ग अनुसन्धान संस्थान कोरियाका परियोजना प्रबन्धक जियोन ह्युन किमले पोखराका ८४ वटा बस रुटहरूमा १ हजार २ सय ८६ स्थानमा बस स्टप निर्माण गर्ने जानकारी दिएका छन्। ३ ठाउँमा बस टर्मिनल निर्माण गरिनेछ।

उक्त खर्चको आधा रकम बस स्टप र बसहरूमा मेसिन जडान गर्दा खर्च हुने किमले जानकारी दिए। ३ चरणमा सबै काम पूरा हुनेछ। पहिलो चरणमा २०२५ सम्म सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक काम सक्ने योजना छ। दोस्रो चरणमा २०३० सम्म हरित यातायात प्रणालीको विकास गर्ने र तेस्रो चरणमा २०३५ सम्म दिगो हरित यातायात प्रणालीको विकास गरिनेछ।