‘विकासका लागि एमाले नेतृत्वको सरकार आवश्यक’– मिना गुरुङ

जनसम्मत
कार्तिक ६, २०७९, आइतबार

कास्की क्षेत्र नम्वर २ (२ ) बाट नेकपा एमालेका प्रदेश सभा उम्मेदवार मिना गुरुङले देशमा विकासको लहर ल्याउन एमाले नेतृत्वको सरकार आवश्यक रहेको औंल्याएकी छन्।

उनले समाज तथा राष्ट्र निर्माणको निम्ति एमाले पार्टीको विकल्प नभएको उल्लेख गरिन्। मंसीर ४ गते हुने निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउन सूर्य चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरिन्।

पोखरा–११ मा नेकपा एमालेको निर्वाचन परिचालन कमिटि कार्यालय उद्घाटन कार्यक्रममा गुरूङले राजनीतिमा महिला शसक्तिकरण, योजनाबद्ध कार्यक्रम, व्यवसाय, सीप विकास, रोजगार तथा स्वरोजगार प्रवद्र्धनका लागि आफूले उम्मेदवारी दिएको बताइन्।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषदका सदस्य सोमनाथ अधिकारीले यस क्षेत्रमा आफ्नो पाटीको सरकारले संचालन गरिरहेका अधिकांश विकासका योजनाको बजेट कटौती र रकमान्तरण गर्ने काम वर्तमान सरकारले गरेकोतर्फ जानकार हुन जनतालाई आग्रह गरे। कास्कीमा एमालेले मात्र महिलाहरूको हकहित हुने गरी काम गरेको अधिकारीले स्मरण गराए।

एमाले गण्डकी प्रदेश कमिटिका उपसचिव रश्मी आचार्यले एमाले सरकारको जनमुखी विकासदेखि अत्तालिएर सत्ताबाट हटाइएको बताए। जनताको मनको साथले अब बहुमतको सरकार निर्माण हुने आचार्यले उल्लेख गरे।

कार्यक्रममा पार्टी जिल्ला कमिटिका सदस्य तथा कास्की क्षेत्र–२ का प्रचार–प्रसार संयोजक झटपबहादुर रानाभाटले कास्कीमा एक मात्रै विकासको नायक एमाले भएको जिकिर गरे।