डोटीमा भूकम्प: ६ जनाको ज्यान लियो

जनसम्मत
कार्तिक २३, २०७९, बुधबार

डोटीमा गएराति ३ पटक भूकम्प गएको छ। पछिल्लोपटक डोटीमा गएराति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार त्यसअघि पनि त्यही क्षेत्र भएर राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको र त्यसअघि ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ।

भूकम्पको धक्का बाजुरा, बझाङलगायत सुदूरपश्चिमका जिल्लामा महशुस गरिएको केन्द्रले जनाएको छ।

भूकम्पमा परेर अहिलेसम्म डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाँउमा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ। त्यस्तै, ५ जना घाइते भएका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन्।