डोटी भूकम्प : दिउँसो ४ बजेसम्म २ सय १० पराकम्प

पोखरा पनि भूकम्पको जोखिममा

जनसम्मत
कार्तिक २३, २०७९, बुधबार

डोटी केन्द्रविन्दु भएर आएको ६.६ म्याग्निच्युडको भूकम्पछि बुधबार अपराह्न ४ बजेसम्म २ सय १० वटा पराकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले मंगलबार राति २ बजेदेखि बुधबार अपराह्न ४ बजेसम्म २ सय १० वटा पराकम्प रेकर्ड गरेको छ।

ती सबै पराकम्प ४ म्याग्निच्युडभन्दा कमको रहेको केन्द्रले जनाएको छ। मंगलबार २ बजेर १२ मिनेटमा आएको ६.६ म्याग्निच्युडको भूकम्पपछि सोही क्षेत्र आसपास २ सय १० वटा पराकम्प गएको हो। त्यो सबै ४ म्याग्निच्युडभन्दा कमको छ। यो रेकर्ड ४ बजेसम्मको मात्र भएपनि त्यसपछि स–साना पराकम्प आएको हुनसक्छ। त्यसको अनुसन्धान भइरहेको केन्द्रले जनाएको छ।

पोखरादेखि पश्चिम भारतको देहरादुनसम्मको क्षेत्र भूकम्पीय जोखिममा रहेको बताइएको छ। यस क्षेत्रमा भूकम्प नगएको करिब पाँच सय वर्ष भइसक्यो त्यसैले, यो क्षेत्रमा भूकम्पको जोखिम रहेकाले सतर्कता अपनाउनु जरुरी छ।

एकपटक ठूलो भूकम्प गइसकेको ठाउँमा जोखिम कम हुने भएपनि आसपासका क्षेत्रमा भने सर्तकता अपनाउनुपर्ने हुन्छ।