पोखरा–२३ लाई अन्तर वडा भलिबलको दोहरो उपाधि

जनसम्मत
माघ १८, २०७९, बुधबार

पोखराको वडा नं २३ ले अन्तर वडा महिला तथा पुरुष भलिबल प्रतियोगिताको दोहरो उपाधि जितेको छ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिला तथा पुरुष दुबैतर्फ पहिलो हुँदै दोहरो उपाधि जितेको हो।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको फाइनलमा वडा नम्बर २३ को महिला र पुरुष दुवै टिमले फाइनल जिते।

पुरुषतर्फ वडा नं २३ ले वडा–१६ लाई ३–२ को सेटमा जित निकाल्दै पहिलो बन्यो। त्यस्तै, महिलातर्फ वडा नं २३ ले नै १८ लाई ३–० सेटमा जित निकाल्यो।

वडा नं २३ ले प्रतियोगिताको उपाधि जित्दै ६०/६० हजार रुपैयाँ नगद पुरस्कार जित्यो। पुरुषतर्फ पोखरा–१६ दोस्रो हुँदै ५० हजार पुरस्कार जित्यो। पोखरा–२० तेस्रो हुँदै ४० हजार पुरस्कार जित्यो।

महिलातर्फ पोखरा–१८ दोस्रो बन्दै ५० हजार र वडा नं १५ तेस्रो बन्दै ४० हजार पुरस्कार जित्यो।

महिला र पुरुषतर्फ दुबैतर्फ सर्वोत्कृष्ट खेलाडी तथा विधागततर्फ ५/५ जना खेलाडीले उत्कृष्ट बने।

पोखरा–१६ का विजय सुनार प्रतियतोगिताको सर्वोत्कृष्ट खेलाडी बने। पुरुषतर्फ पोखरा–२० का सुजन नेपाली उत्कृष्ट डिफेन्डर, पोखरा–२३ का बबिन सुनार उत्कृष्ट स्पाइकर, विवेक सुनार उत्कृष्ट सेटर, रमित क्षेत्री उत्कृष्ट ब्लकर घोषित भए।

महिलातर्फ, पोखरा–२३ की निशा भुजेल सर्वोत्कृष्ट खेलाडी बनिन्। पोखरा–२३ की कृष्णकुमारी भण्डारी उत्कृष्ट स्पाइकर, पोखरा–२३ कै निशा भुजेल उत्कृष्ट सेटर, पोखरा–२३ कै सबिना पौडेल उत्कृष्ट डिफेन्डर र पोखरा–१८ की जेनिफर चौधरी उत्कृष्ट सर्भर घोषित भए।
विधागततर्फ उत्कृष्ट हुनेले पुरस्कारबापत ५–५ हजार रुपैयाँ पाएका छन्।

पोखरा महानगर भलिबल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ३ टिम सहभागी थिए। प्रतियोगितामा सहभागी टिमका खेलाडी छनोट गरेर महानगरपालिकाले आफ्नो टिम बनाएको छ। फरक–फरक वडाका खेलाडी छनोट गरेर पुरुषतर्फ २ र महिलातर्फ १ टिम बनाइएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए। यसरी, बनाइएको टिमले आगामी दिनमा हुने भलिबल प्रतियोगितामा पोखरा महानगरपालिकाको प्रतिनिधित्व गर्नेछन्।

प्रतियोगिताको समापन समारोहमा बोल्दै खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले खेलाडी उत्पादनमा आफूहरुले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाए। भलिबल खेलाडी उत्पादनमा प्रदेश सरकारसँग पनि सहकार्य गर्ने उनको भनाई छ।