नेकपा एस कुनै पार्टीमा विलय हुँदैन: माधव नेपाल

जनसम्मत
फागुन ३, २०७९, बुधबार

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले उनले नेकपा एस कुनै पार्टीमा बिलय पनि नहुने बताएका छन्।

पोखरामा आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले जुनकुनै पार्टीसँग संभव भएसम्म मोर्चा बनाउने बताए।

एकता गर्ने नाममा नेकपा एस कुनै अन्य राजनीतिक दलसँग विलिन नहुने उनको तर्क थियो।

नेता नेपालले भने, ‘सुशासन, विकास र समृद्धिका लागि, समाजवादोन्मुख अर्थतन्त्रको लागि सबै राजनीतिक दलसँग सहकार्य गरेर अगाडि बढ्छौँ। त्यसका लागि सम्भव भए मोर्चा समेत बनाउँछौ। र, पार्टी एकतासम्म हुनसक्छ। तर, एकता गर्ने नाममा नेकपा एस कुनै अन्य राजनीतिक दलसँग विलिन भने हुँदैन।’

महासचिव बेदुराम भुषालको संयोजकत्वमा अन्य राजनीतिक दलसँग एकीकरण गर्ने, नभए मोर्चाबन्दी भएर जाने भन्दै छलफल चलाईरहेको बेला अध्यक्ष नेपालको यस्तो भनाई आएको हो।

उनले अहिलेको प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिएका छन्।

पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन पोखरामा रहेका अध्यक्ष नेपालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन प्रतिगमनतर्फ उद्दत भएको टिप्पणीसमेत गरे।

‘अहिलेको गठबन्धन खिचडी गठबन्धन हो’ उनले भने, ‘यो गठबन्धन संविधान, गणतन्त्र, संघीयताप्रति प्रतिबद्ध नरहेको, परिवर्तन नचाहने, प्रतिगमन उद्दत गठबन्धन हो। यिनीहरूको वैचारिक एकता छैन। यसमा परिवर्तन उल्ट्याउन खोज्ने पनि छन्।’