सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड आज

मेक्सम गौडेलले ‘स्ट्याण्ड अप’ कमेडीमार्फत पोखरा सभागृह हलमा हसाँउने

जनसम्मत
वैशाख २३, २०८०, शनिबार

आज (शनिबार) सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड वितरण कार्यक्रम हुदैँछ।

आज शनिबार दिउँसो २ बजेपछि पोखरा सभागृह हलमा आयोजना हुने कार्यक्रममा वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डसहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब विधामा अवार्ड प्रदान गरिनेछ।

यिमध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी गरेर ४ वटा विधामध्येको उत्कृष्ट ३ मनोनयन सार्वजनिक भैसकेको छ।

जसअनुसार वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन्।

वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजिना थापामगर, फुटवलकी सावित्रा भण्डारी ‘साम्बा’ र आइटीएफ तेक्वान्दोकी सुस्मिता थापामगर छन्।

वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन्।

उदीयमान खेलाडीतर्फ भलिवलका रवि केसी, फुटवलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी छन्। वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ आर्चरीका किशोरकुमार गुरुङ, लनटेनिसका निरज थापा र आइटीएफ तेक्वान्दोका सुरज सुनार छन्।

वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकको विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्। उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ।

यस्तै, यो वर्षको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बक्सिङ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गर्ने घोषणा भैसकेको छ। मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाद्धारा सम्मान गरिनेछ।

वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबल संघलाई प्रदान गरिनेछ। पत्रकार सागर तिमिल्सिनालाई यस वर्षको उत्कृष्ट वर्ष पत्रकारिता पुरस्कारद्धारा पुरस्कृत गरिदैँछ।

वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्।

यसैगरी, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गर्ने मञ्च गण्डकीका महासचिव पौडेलले बताए।

अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा कमेडी च्याम्पियनबाट चर्चामा आएका स्याङजाका मेक्सम गौडेलको स्ट्यान्ड अप कमेडी प्रस्तुती रहनेछ।

यसैगरी, ‘भेटियो सान्नानी सोल्टीबजार’मा गीतबाट थप चर्चामा आएका लोकदोहोरी गायक निश्चल दवाडीको गायन प्रस्तुती, हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य प्रस्तुती, डेमोस्ट्रेसनलगायत अवार्ड कार्यक्रममा थप आर्कषण हुनेछन्।

‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ को पुरस्कार सुपर मादी हाइड्रोपावर, उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फको पुरस्कार टाइगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको छ।

अवार्ड कार्यक्रमका लागि गण्डकी प्रदेश सरकारको विषेश सहयोग रहेको छ। अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चलाई अन्य विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको मञ्चले जनाएको छ।

यसरी सहयोग गर्नेमा पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, सिटिजन फर्निचर ट्रेड लिंक, आभ्या क्लब, परिचय एड्भर्टाइजिङ, नेपाल पर्यटन बोर्ड, टेल्जी नेपाल, तमु धिं युके, मझेरी रिसोर्ट एण्ड स्पा, सहारा युके, सहारा युकेका संस्थापक सल्लाहकारद्वय महेश गुरुङ र लोकबहादुर गुरुङ, भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक मञ्जु गुरुङ, पूर्व राष्ट्रिय खेलाडी तथा समाजसेवी रुपक गुरुङ, रामबजार सोसाइटी युकेका अध्यक्ष राम गुरुङ, समाजसेवी चिनकाजी गुरुङ, पोखरेली मञ्च युकेका सल्लाहकार नरजङ गुरुङ, मञ्चका पूर्व अक्ष्यक्ष प्रेमनारायण न्यौपाने, सञ्चारकर्मी गोविन्द थापा सिञ्जाली छन्।

नेपाल औषधी व्यवसायी संघ कास्की, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे« गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाण्डौं, बतास अर्गनाइजेसन, नेपाल मुआथाई संघ गण्डकी, बिजी ट्रेड लिंक, सरुमा चुल्हो, भूतपूर्व खेलाडी मञ्च, नेपाल हवाई खेलकुद संस्था –ना), सहारा हङकङ, क्लासिक चुल्हो, वल्ड लिंक, होटल बाराही, फूडमाण्डु, पोखरा महानगरपालिका वडा नं.३, ४, ९, १२ र १५, पश्चिमाञ्चल सामुदायिक अस्पताल, रुपाकोट सुनचाँदी पसल, हाम्रो पोखरा सोफा होम, ओम बुद्ध नर्सरी, कर्मचार्य ग्रुपको कोसेली तेल, सिर्जना विकास केन्द्र, नेपाल टेलिकम पोखरा, नेपाल आयल मिल, बुमराङ रेष्टुरेन्ट, टेनिस संघ, पोखरा उद्योग वाणिज्य संघ, अटोवेज प्रालि, एसके साउण्ड एण्ड म्युजिक पोखरा, युनाइटेड क्लब, यति एयरलाइन्स, आँगन स्वीट न्युरोड, निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिकालगायतले समेत सघाउनेछ।

अवार्ड कार्यक्रमको पब्लिक फोर के टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ। जसका लागि टेलिभिजनसँग सहकार्य गरिएको मञ्चले जनाएको छ। प्रवेश नि:शुल्क रहने अवार्ड कार्यक्रममा उपस्थित भएर खेलाडी, प्रशिक्षक तथा आयोजकलाई हौसला बढाउन सम्पूर्ण सञ्चारकर्मी र खेलप्रेमीलाई मञ्चले अनुरोध गरेको छ।