
गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेश समितिको नयाँ कार्यसमितिमा रमेश अर्याल निर्वाचित भएका छन्।
समितिको पाँचौं अधिवेशन एवम् एघारौं वार्षिक साधारणसभाले रमेश अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो।
समितिको प्रथम उपाध्यक्षमा विश्वराज अधिकारी, द्वितीय उपाध्यक्षमा चिन्तामणि पोखरेल, सचिवमा भीमराज पौडेल, कोषाध्यक्षमा विमला अधिकारी सापकोटा र सह–कोषाध्यक्षमा शरण गुरुङ छन्।
त्यस्तै, समितिका सदस्यहरूमा मुना कोइराला, भावना रानाभाट, राजु परियार, प्रभात अधिकारी र जीवन सापकोटा निर्वाचित भएका छन्।
यसअघि, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले अधिवेशनको उद्घाटन गर्दै गाउँ पर्यटनको विकासका माध्यमबाट ग्रामीण अर्थतन्त्रको विकास गर्न सकिने औंल्याइन्।
गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले ‘हरेक गाउँ, पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ भिटोफ गण्डकी विभिन्न पर्यटकीय गाउँको प्रवर्द्धन र विकासमा लागेको बताइन्।
भिटोफ गण्डकीका संस्थापक अध्यक्ष एवं पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले गाउँलाई शहरसँग र शहरलाई गाउँसँग पर्यटकीय रुपमा जोड्ने लक्ष्यका साथ संस्था स्थापना भएको उल्लेख गरे।
समग्र गाउँको विकास गाउँ पर्यटनबाट गर्न सकिने उनले बताए।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले भिटोफसँगको सहकार्यमा गाउँ पर्यटन मार्टदेखि पर्यटन प्रवर्द्धन र विकासका विभिन्न कार्यक्रम गरिएको बताए।
सो अवसरमा संस्थाका आजीवन सदस्यहरूलाई सम्मान गरेको थियो।