दोर्दी गाउँपालिकाका उत्कृष्ट ६ जना कर्मचारीहरुलाई सम्मान

कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा, अन्तरक्रिया तथा छलफलसमेत गरियो

जनसम्मत
असार २५, २०८३, बिहीवार

लमजुङको दोर्दी गाउँपालिकाले गाउँपालिकामा कार्यरत असल र उत्कृष्ट ६ जना कर्मचारीलाई बुधबार सम्मान गरेको छ।

गाउँपालिकाको विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरु सम्मानीत भएका हुन्।

आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा, अन्तरक्रिया तथा छलफल कार्यक्रममा उनीहरुलाई सम्मान गरेको हो।

गाउँपालिकाका अधिकृत धर्मराज गुरुङका अनुसार उत्कृष्ट कार्यसम्पादनका आधारमा लेखा अधिकृत ताराचन्द्र ढकाल, सूचना प्रविधि अधिकृत रञ्जित श्रेष्ठ, कृषि क्षेत्रबाट नायव प्राविधिक सहायक श्यामसुन्दरप्रसाद पटेल, खानेपानी सहायक प्राविधिक रकेट बुढा, स्वास्थ्यतर्फ अनमी मनमाया रावत र कार्यालय सहयोगीतर्फ फलेनी स्वास्थ्यचौकीका आइतबहादुर गुरुङलाई सम्मान गरेको हो।

गाउँपालिका अध्यक्ष युवराज अधिकारी, उपाध्यक्ष विच्छबहादुर घले र प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले टीका लगाउँदै उनीहरुलाई सम्मानपत्र र नगद प्रदान गरे।

गाउँपालिकाका अध्यक्ष अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन भएका कार्यक्रम, उपलब्धी तथा आगामी सुधारका विषयमा अन्तरक्रिया र छलफल गरिएको थियो।

गाउँपालिका अध्यक्ष अधिकारीले सेवाप्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीको योगदान महत्वपूर्ण रहेको औंल्याए। कार्यक्रममा सहभागीहरुले आगामी दिनमा सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गर्न सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष घले, प्रमुख प्रशासकीय अधिकृत काफ्ले, कार्यपालिका सदस्य, जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता थियो।