क्व्हाेंलासोँथार गाउँपालिकाले १२ जनालाई सम्मान गर्‍यो

गाउँपालिकाको २० औँ गाउँसभा अधिवेशन सम्पन्न

जनसम्मत
असार १३, २०८३, शनिबार

लमजुङ जिल्लाको क्व्होंलासोँथार गाउँपालिकाले १२ जनालाई सम्मान गरेको छ।

गाउँपालिकाको वडा नं. ३ घलेगाउँमा भएको गाउँसभाको २० औँ अधिवेशनमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका व्यक्ति, कृषि फार्म, उपभोक्ता समिति, विद्यार्थी तथा वडालाई सम्मान गरेको हो।

गाउँपालिकाले उनीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको हो।

कार्यक्रममा गाउँपालिकाको पशु सेवा शाखामा कार्यरत रूपनारायण चौरसियालाई उत्कृष्ट कर्मचारी तथा स्वास्थ्य शाखाका मेडिकल अधिकृत डा. सागर थापालाई उत्कृष्ट स्वास्थ्यकर्मीका रूपमा सम्मान गर्‍यो।

कृषि क्षेत्रतर्फ वडा नं. ६ पसगाउँस्थित प्रगतिशील एकीकृत कृषि फार्मका संचालक होमबहादुर गुरुङ र वडा नं. ४ भुजुङस्थित नमुना कृषि तथा पशुपन्छी कृषि फार्मका संचालक कुलबहादुर विकलाई सम्मान गर्‍यो।

शिक्षा क्षेत्रतर्फ वडा नं. ३ बगुमस्थित घले उत्तरकन्या माध्यमिक विद्यालयका शिक्षक उमलबहादुर विक तथा वडा नं. ९ गिलुङस्थित बुद्धोदय माध्यमिक विद्यालयका शिक्षक प्रकाश उपरकोटीलाई उत्कृष्ट शिक्षकका रूपमा सम्मान गर्‍यो।

त्यस्तै, वडा नं. १ बागलुङपानीस्थित जनज्योति माध्यमिक विद्यालयका विद्यार्थी शेरप लामालाई एसईई-२०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको भन्दै सम्मान तथा पुरस्कार प्रदान गर्‍यो।